Thursday, May 21[email protected]
Shadow

निर्यातमुखी अर्थतन्त्र विकासमा सहकार्यको आवश्यकता

रत्ननगर (चितवन) । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आयात विस्थापन र निर्यात वृद्धि गर्न जोड दिनु भएको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घ र व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र ललितपुरको संयुक्त आयोजनामा सोमबारबाट रत्ननगरमा सुरु भएको पाँच दिने व्यापार, विश्लेषण तथा निकासी प्रर्वद्धनसम्बन्धी तालिमको उद्घाटन गर्दै उहाँले नवीनतम प्रविधि भित्र्याएर उत्पादन बढाउन र निर्यातमुखी अर्थतन्त्रको विकासमा सबैले सहकार्य गर्नु आवश्यक रहेको बताउनुभयो ।


उहाँले उद्योग स्थापना गरी देशमा उत्पादन वृद्धि गर्ने र आयात विस्थापित गर्दै जाने नीति आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री थापाले समृद्धि उत्पादनसँग जोडिएको बताउँदै जनताको आवश्यकता पूरा गर्न र देशलाई समृद्ध बनाउन उत्पादन वृद्धि जरुरी रहेको बताउनुभयो । उहाँले देशमा स्थापना गरिने उद्योग व्यवसाय र उत्पादन वृद्धिको लागि गरिने कार्यमा समन्वय गर्न सरकार तयार रहेको बताउनुभयो ।
उहाँले उद्योगी व्यवसायीहरुलाई सुरक्षाको विषयमा ढुक्क रहन आग्रह गर्दैै बाह्य र आन्तरिक सुरक्षालाई सबल बनाउने पक्षमा सरकार सधैँ सकारात्मक रहेको पनि बताउनुभयो ।
अर्को एक प्रसङ्गमा गृहमन्त्री थापाले देशै भरका राजमार्गमा राखिएका सडक बोर्ड दस्तुर सङ्कलन केन्द्रले समस्या बनाएको भन्दै ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रकृया अघि बढाइ सकिएको र चितवनको गोन्द्राङमा रहेको ढाँट मकवानपुर जिल्लाको सीमा लोथरमा सर्छ भन्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले गोन्द्राङको ढाँट जिल्ला सीमानामा सार्नका लागि आग्रह गर्नुभएको थियो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले कृषकले उत्पादन गरेको वस्तुमा बिचौलियाको अन्त्य भएमात्रै कृषकले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउने बताउनुभयो ।
रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । तालिममा जिल्लाको केरा, माछा, कुखुरा, पशुपालनलगायतका क्षेत्रबाट २८ जनाको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published.