Thursday, May 21[email protected]
Shadow

सहकारी पत्रकार समाजको साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १०औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेलले गरिवी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहने बताए । सञ्चार र सहकारीको समन्वय गर्दै गरिवी निवारणमा सहकारी क्षेत्रको भूमिका बढाउनुपर्ने उनको भनाइ छ । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो ।

जिल्ला सहकारी सङ्घ काठमाडौँका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराखिने बताए । नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश थापा, केन्द्रीय सदस्य टेकराथ थामी, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईं, निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटा लगायतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

नेपाल सहकारी पत्रकार समाजले १०औँ वार्षिक साधारणसभाको अवसरमा रातोपाटी डटकममा कार्यरत प्रयास श्रेष्ठलाई पुरस्कृत गरेको छ । संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा भदौ १९गते प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण वार्षिक साधारणसभामा प्रदान गरिएको हो । त्यस्तै साधारणसभाको अवसरमा संस्थापक सचिव सीताराम विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’ गरिएको थियो ।

वार्षिक साधारणसभाका अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार तथा हित कोष स्थापना गरिएको छ । उक्त कोषले आगामी दिनमा सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्नुका साथै सदस्यको हितका लागि खर्च गर्ने लक्ष्य राखेको छ । जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले उक्त कोषमा रु ५१ हजार ११९ सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.