Thursday, May 21[email protected]
Shadow

आकर्षण देखिएनन् बाली बीमाप्रति किसान

नेपालगञ्ज । बाँके र बर्दियाका किसानहरु बाली बीमाप्रति हालसम्म पनि खासै आकर्षित हुन सकेका छैनन् । बाली बीमाप्रति किसानको आकर्षण हुन नसक्दा बाँके र बर्दिया दुबै जिल्लामा बाली बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
सरकारले बाली बीमालाई प्राथमिकता दिएपनि सर्वसाधारण किसानले भने सो तर्फ चासो नदेखाएको पाइएको छ । दुबै जिल्लामा खेती गर्ने किसानहरुको संख्या पचास हजार भन्दा बढी भएपनि हालसम्म २६ जना किसानले मात्र बाली बीमा गराएको पाईएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।


बाली बीमाप्रति किसानको चासो नदेखिएकै कारण बीमा योजना लागू भएको चार वर्ष पुगिसक्दा पनि बीमामा किसानको आकर्षण न्यून पाइएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनु भयो ।
उहाँले बाँके र बर्दियामा बाली बीमा गर्नका लागि एनएलजी इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, आइएमई जनरल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीलाई जिम्मा दिईएको बताउनु भयो ।
प्रमुख ढकालका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीले सात जना किसानको बाली बीमा गरेको छ । जसमध्ये चार जनाको धान बाली, एक जनाको गोलभेडा खेती, एक जनाको आलु र एक जनाको कन्या च्याउ खेतीको बीमा गरेको छ ।
यसैगरी नेको इन्स्योरेन्स कम्पनीले एक जना किसानको ५७ कठ्ठामा लगाइएको केरा खेतीको बीमा गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले १८ जना किसानको १८२ कठ्ठा जग्गामा लगाईएको केरा खेतीको बीमा गरेको छ ।
सोही प्रकारले आइएमई जनरल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीले कुनै पनि किसानको बाली बीमा गरेको छैन ।
बाँके र बर्दिया दुबै जिल्ला हेर्नेगरी नेपालगञ्जमा स्थापना गरिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका अनुसार २०७६ सालको माघ मसान्तसम्म दुबै जिल्लामा गरी २६ जना किसानले २ हजार १५२ कठ्ठा क्षेत्रफलमा लगाईएको धान, गोलभेडा, आलु, कन्या च्याउ र केरा खेतीको गरेर १ करोड २५ लाख ५४ हजार ६९७ रुपैयाँको बाली बीमा गराएका छन् ।
विभिन्न प्रकोपका कारण बालीमा हुने हानी र नोक्सानीबाट किसानलाई राहत पुर्याउने उद्धेश्यले सरकारले अघि सारेको बाली बीमाप्रति किसानको चासो नहुनुमा किसानले जोखिमको पूर्वानुमान गर्न नसक्नु र बीमा गराउँदा प्रक्रिया झन्झटिलो लाग्नु नै प्रमुख कारण रहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख ढकाल बताउनु हुन्छ ।
उहाँले जसरी जीवन बीमाका लागि घर घरमा गएर बीमा बारे जानकारी गराई बीमा गरिन्छ त्यसरी नै बाली बीमा गर्ने नगरिएकोले पनि किसानको चासो नदेखिएको बताउनुभयो । ‘किसानले बीमा कम्पनी खोज्दै आउनु पर्ने अवस्था छ, त्यसैले अधिकांश किसानले सो बारेमा चासो लिंदैनन्’–ढकालले भन्नुभयो ।
उता, धेरै किसानले बीमा बारे आफूले थाहा नपाएको गुनासो गरेका छन् । बाँके खजुरा डी गाउँका किसान विजय शर्माले हरेक वर्षजसो बालीमा कहिले फौजीकीरा र कहिले अन्य कारणले नोक्सानी हुने भएपनि बीमा बारे थाहा नपाउँदा नगराएको बताउनु भयो ।
सोही प्रकारको गुनासो कोहलपुर–३ मैटहवाका किसान दिपेन्द्र चौधरीले पनि गर्नुभयो । उहाँले पनि हालसम्म कुनै पनि कम्पनीले आएर बीमा गराउन नभनेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.