चितवन । समाजमा पछाडि परेका आदिवासी चेपाङ समुदायको भौतिक पूर्वाधार विकास मात्र नभएर उनीहरुको चेतना स्तरमा पनि परिर्वतन ल्याउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
चितवनको कालिका नगरपालिका ९ शक्तिखोरमा अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजनामा निर्वाचित जनप्रतिनिधिहरुसँग चेपाङ महिलाहरुको नेतृत्व विकास, जवाफदेहिता प्रवद्र्घनका लागि सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा चेपाङ अगुवा तथा सामुदायिक वनका कोषाध्यक्ष ज्ञानेन्द्र चेपाङले भौतिक पूर्वाधार विकास मात्र नभएर चेपाङहरुलाई नेतृत्व क्षमता, सीप विकास, सामाजिक समावेशिता र जवाफदेहिता अभिबृद्धिका साथै उनीहरुको चेतनास्तरमा परिर्वतन ल्याउनुपर्ने बताउनुभयो । नेपाल चेपाङ संघ नगर कमिटीका अध्यक्ष कृष्ण चेपाङले चेपाङहरु पार्टीगत राजनीतिलाई छाडेर एकजुट भएर समग्र चेपाङहरुको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
अगुवा चेपाङ महिला पैरवी मञ्चका सदस्यहरुले गरिव तथा पिछडिएका चेपाङ समुदायले राज्यद्धारा प्रदान गर्ने सेवा सुविधाहरु समान रुपमा वितरण नभएको बताएका थिए । पैरवी मञ्चका सदस्य आईतिमाया चेपाङले वडा तथा नगरपालिकाले सबैलाई समान व्यवहार गर्नुपर्ने, पार्टीगत रुपमा भेदभाव गर्न नहुने भन्दै चेपाङ महिलाको लागि छुट्टै बजेटको माग गर्नुभयो । चेपाङ अगुवा शान्ति चेपाङले मेयर आवास लगायत विभिन्न विकासका योजनाहरुमा स्थानीय निकायले चेपाङहरुलाई निष्पक्ष र पारदर्शी रुपमा छनौट गर्नुपर्ने, जातिगत एवं पार्टीगत रुपमा हेर्न नहुने बताउनुभयो ।
अर्की अगुवा रन्जना चेपाङले वडाले दिने कार्यक्रमको बारेमा सूचनाहरु पहाडी भू–भागमा बसोबास गर्ने चेपाङ महिलाहरुले थाहा नपाउने हुनाले नगरपालिकाले दिने सीप विकास तथा आयमूलक, क्षमता विकासका जस्ता कार्यक्रमबाट अधिकांश चेपाङहरु बञ्चित हुनु परेको गुनासो सुनाउनुभयो ।
मैया चेपाङले अन्य जातिको भुकम्प पुनर्निमाण अन्तरगतको घर बनेको तर चेपाङहरुको नबनेको बताउनुभयो ।
कालिका नगरपालिका ९ का वडा सदस्य ओकील पूरीले नगरपालिकाले कसैलाई पनि जातिय तथा पार्टीगत रुपमा विभेद नगरेको र गर्न नहुने बताउनुभयो । आगामी दिनमा चेपाङहरुलाई अझ प्राथमिकतामा राखेर योजना बनाउने उहाँले जानकारी दिनुभयो ।
नेपाल चेपाङ संघ नगर कमिटीका अध्यक्ष कृष्ण चेपाङले चेपाङहरु पार्टीगत राजनीतिलाई छोडेर एकजुट भएर समग्र चेपाङहरुको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कालिका नगरपालिका ९ का वडा अध्यक्ष हेम बहादुर क्षेत्रीले चेपाङहरु चितवनको आदिवासी भएको र उनीहरुलाई अन्य समुदायको तुलनामा सरकारी तथा गैर सरकारी निकायबाट विभिन्न कार्यक्रमहरु आएपनि उल्लेख्य रुपमा परिवर्तन नआएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।
धादिङ, इच्छाकामनाका विकट स्थानमा बसोबास गर्ने चेपाङहरुले सीप सिकेर राम्रो आयआर्जन गरे पनि शक्तिखोरका चेपाङहरु निर्वाहमुखी र अल्छि भएर प्रगति गर्न नसकेको भनाई राख्नुभयो । चेपाङहरुले विभिन्न सीपमूलक तालिम लिए पनि व्यवहारमा उतार्न नसकेको हुनाले उनीहरु आर्थिक सामाजिक रुपमा पछाडी परेको बताउनुभयो । उहाँले चेपाङ महिलाहरुको नेतृत्वमा कार्यक्रम आयोजना भएकोमा खुशी प्रकट गर्दै यसरी महिलाहरु एक जुट भएर योजना माग गर्न आएमा वडा तथा नगरपालिकाले योजनाहरु दिने प्रतिवद्घता जनाउनुभयो ।
मेयर आवास कार्यक्रम अन्तरगत कालिका वडा नम्बर ९ बाट २३ घरहरु छनौटमा परेको मध्य धेरैजसो विपन्न चेपाङहरुलाई यस कार्यक्रममा समावेस गरेको बताउनुभयो । नगरपालिकाले महिलाहरुको लागि सिलाई कटाई ब्यूटीसियन तालिम प्रदान गर्ने जानकारी दिनुभयो ।
अगुवा चेपाङ महिला पैरवी मञ्चकी अध्यक्ष लक्ष्मी चेपाङले विगतमा शिक्षा र चेतनाको कमीले पछाडि परेको भए पनि हाल विकासका विभिन्न अवसरहरुले गर्दा उनीहरुको चेतना स्तर बृद्धि हुनुको साथै क्षमता विकास भएको बताउनुभयो । चेपाङहरु पनि वडा कार्यालय, नगरपालिकामा गएर योजना माग गर्न सक्ने भएको भन्दै महिलाको लागि बजेट छुट्याउन पैरवी गर्न सक्ने भएको बताउनुभयो ।
कार्यक्रम डेक–नेपालद्धारा अन्डेफको सहयोगमा सञ्चालित लैङ्गिक उत्तरदायी सुशासन प्रवद्र्धनका लागि युवा चेपाङ महिला अगुवाहरुको सशक्तिकरण कार्यक्रम अन्तरगत गठन गरिएको अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजना तथा नेपाल चेपाङ संघको समन्वयमा कालिका नगरपालिका ९ शक्तिखोरमा, मञ्चकी अध्यक्ष लक्ष्मी चेपाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कालिका नगरपालिका ९ का वडा अध्यक्ष हेमबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा सदस्यहरु ओकील पूरी, महिला सदस्य भुवकुमारी पूरी, मन कुमारी विक, सामुदायिक वनका पदाधिकारी, महिला स्वास्थ्य स्वयम सेविका, नेपाल चेपाङ संघका पदाधिकारी, वडा न ३, ८, १०, ११ का स्थानीय स्रोत व्यक्तिहरु, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरु लगायत ६० जनाको सहभागिता रहेको थियो ।
स्थानीय निकायमा सामाजिक जवाफदेहिता अभिबृद्धि र योजना निर्माण प्रक्रियामा चेपाङ महिलाहरुको सहभागिता बढाउनुका साथै स्थानीय निकायले प्रधान गर्ने सेवा सुविधा र विकासका योजनाहरु लक्षित समुदायहरुसँग पु¥याउन सरोकारवाला निकायहरुको जवाफदेहिता अभिबृद्धि गर्ने उद्देश्यले स्वयम चेपाङ महिलाहरुको अगुवाइमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको डेक–नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले बताउनुकभयो ।
