पुस २९, काठमाडौं । कोरोना विरुद्ध आपतकालिन प्रयोगका लागि अनुमति पाएका खोप भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन औषधि व्यवस्था विभागले आह्वान गरेको छ ।
विभागले बुधबार एक सूचना जारी गर्दै दर्ता प्रक्रियामा सहभागी हुन भनेको हो । कोभिडविरुद्धको खोप ल्याउन सजिलो होस् भनेर यसअघि नै सरकारले औषधि ऐनलाई संशोधन गरेको थियो । आयातकर्ताको छनौट उनीहरुको कागजपत्र र भ्याक्सिनको विवरण हेरेर गरिनेछ । नियामक निकायले आपतकालीन प्रयोगको लागि अनुमति नदिएको भ्याक्सिनलाई दर्ता गर्न दिने छैन ा
गत सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप निःशुल्क वितरण गर्ने बताएका थिए । उक्त कार्यक्रम मार्फत उनले निजी कम्पनीलाई पनि खोप आयातमा संलग्न गराउने बताएका थिए ।
विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनशाय राखेका उत्पादक वा सो का आधिकारिक आयातकर्ताहरुले सम्वन्धित उत्पादकको तर्फबाट आवश्यक कागजातसहित विवरण खुलाई खोपको आपतकालिन प्रयोगको दर्ता अनुमतिका लागि निवेदन दिन सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार कोभिड १९ खोपको आपतकालिन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालिन प्रयोगसम्बन्धी संहिता २०७७ र कोभिड १९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोगसम्वन्धी अवधारणापत्रलाई आधार मानिने छ
