स्मरण–शक्तिको वैज्ञानिकपक्ष
डा। लक्ष्मीकुमार पराजुली
मानव शरीरका विभिन्न अंगमध्ये मस्तिष्कको विशेष महत्व छ भन्दा अतिशयोक्ति नहोला। शरीरको कूल वजनको २ प्रतिशत मात्रै हिस्सा मस्तिष्कले ओगटे पनि लगभग २० प्रतिशत ऊर्जा तथा अक्सिजन यसै अंगका लागि खर्च हुने गर्छ। मस्तिष्कलाई व्यक्तिको सामाजिक पहिचानको केन्द्र मानिने हुँदा कथम्कदाचित् कसैको स्मरण शक्तिमा ठूलो समस्या देखिएमा उसको सामाजिक प्रतिष्ठामै आँच आउने सम्भावना हुन्छ। अझ महत्वपूर्ण कुरा त हाम्रो मस्तिष्कले विगतका अनुभवहरूलाई नै आधार मानेर भविष्यको दैनिक जीवनयापनका रणनीति तय गर्छ। कुनै वयस्क व्यक्तिको दुर्घटना वा अन्य कारण विगतका स्मृति लोप भएका खण्डमा उसको व्यवहार अबोध बालकको जस्तै हुन जान्छ। फलस्वरूप व्यक्तिको दैनिक जीवनमा समेत चुनौती आउन सक्छन्।
शिशु जन्मिनुअगावै आमाको गर्भमा रहँदा नै उसको मस्तिष्कका प्रायः कोष बनिसक्ने हुनाले यसको बनोट शरीरका अरू धेरै अंगभन्दा भिन्...
