सुशीला कार्की
जो आफ्नो आचरणको ख्यालसम्म नराखी एउटी महिलाविरुद्ध यौन हिंसा गर्छन् भने केका लागि त्यस्ता ढोंगी बाबाको इज्जत जोगाउने रु
केही दिनअघि एक सिद्धबाबा हुँ भन्ने सन्न्यासीले आफ्नी एक अनुयायी महिलालाई साधनाका नाममा एकान्तमा बोलाई बलात्कार गरेको सञ्चारमाध्यममा पढ्न पाइयो। महिलाले हिम्मत गरेर साधुविरुद्ध उजुरी गरेपछि बलात्कारविरुद्धको मुद्दा पनि चल्यो। त्यस हिंसाको वारदातविरुद्ध मुद्दा चलाउनुअघि महिलाले कतिसम्म सकस खेप्नुपरेको थियो, सो कुरा उनले आफ्नो अन्तर्वार्तामा अभिव्यक्त पनि गरेकी छन्।
पीडितको कथनअनुसार साधुवरिपरिका चेलाचपेटा भक्त–भक्तिनी आ श्रमका हिस्सेदार, नाफादार, नेताजन, प्रहरी, जसजसका विविध स्वार्थ त्यस धार्मिक संगठनसँग गाँसिएका थिए, तिनीहरूले स्वामीविरुद्ध उजुरी नगर्न भनी तिनलाई सकेको ललाइफकाइ गरेछन्स त्यतिले नपुगेर धम्क्याएछन् र प्रलोभन देखाएछन्। उमेरले नेटो काटिसकेका बाबाका भक्तिनीहरूसम्मले पीडितलाई सम्झाएका रहेछन्। ‘स्वामी बाबाबाट भएको बलात्कार स्वयं कृष्ण भगवान् उत्तेजित हुन गएकाले स्वामीजीको अंगमा प्रवेश गरी आनन्द प्राप्तिसम्म गर्नुभएको हो। तसर्थ यस कृयालाई कृष्ण भगवान्बाटै कृपा भएको ठानी आफूलाई धन्य सम्झनुपर्नेमा उल्टै स्वामीविरुद्ध उजुर गर्ने ९रु ०’ भनी तिनलाई हप्काएछन्। उनी तिनका कुरा सुनेर छक्क परिछन्।
ती पीडित महिला हिन्दु धर्मप्रतिको अगाध भक्ति भएकै कारण धर्म प्राप्तिका निम्ति आस्था बोकेर त्यस संस्था र उक्त बाबाको संगतमा पुगेकी रहिछन्। उनको कथनअनुसार एउटा धार्मिक गुरुबाट प्रदान हुने शिक्षादीक्षाको विपरीत एउटा अपराधीबाट हुने कार्य उनीमाथि भएको रहेछ। एउटी पतिव्रता नारी, धार्मिक आस्था बोकेकी महिला अनि केही सन्तानकी आमाविरुद्ध त्यो विश्वासघात हुँदा उनलाई कति पीडा भयो होला रु स्वयं महिलाले महसुस गर्नुपर्ने हो। तथापि जो आफ्नो आचरणको ख्यालसम्म नराखी एउटी महिलाविरुद्ध यौन हिंसा गर्छन् भने केका लागि त्यस्ता ढोंगी बाबाको इज्जत जोगाउने रु तर हाम्रो पुरुषप्रधान समाजमा महिलाले पनि पुरुषकै इज्जत जोगाई स्वयं महिलालाई अर्घेलो देखाउने प्रचलन छ।
हुन त यो विवादको यथार्थबारेमा मैले अध्ययन गरेकी छैन, तर सैद्धान्तिक रूपमा भन्ने हो भने बलात्कारको सिकार नै नभएको अवस्थामा विनाकारण स्वयं आफ्नै इज्जत दाउमा लगाउने गरी एउटी महिलाले किन उजुर गर्छे र रु बलात्कारको वारदात हुँदै नभएको अवस्थामा एउटा सामान्य अवस्थाकी साधारण महिलाले मेरो शरीरिक शोषण भयो भनी डंका पिट्नुपर्ने प्रश्न पनि आउँदैन। यहींनेर आएर हाम्रो समाजमा महिलामाथि हुने सामाजिक विभेदका बारेमा यकिन हुन्छ।
ममाथि बलात्कार भयो भनी महिलाले न्याय माग्दा पुरुषको इज्जत जाने तर घरवार भएकी गृहिणीमाथि बलात्कार हुँदा उसले अन्यायविरुद्ध लड्न नहुने रु अनि जुन पुरुषबाट यौन हिंसाको सिकार भइन्छ उसको इज्जतलाई जोगाउन अपमान र पीडालाई जसरी भए पनि सहेर पीडितले मौन भई बस्नुपर्ने रु त्यही कुराको दबाब उनीमाथि त्यहाँका धार्मिक आस्था राख्ने महिलाबाट पनि हुन्छ भने त्यो कस्तो पाखण्डी तर्क र विश्वास हो रु
भगवान् श्रीकृष्णको द्वापर युग अर्कै थियो। त्यतिखेर बहुपत्नी जायज थियो तर पनि भगवान् कृष्णका एक मात्र पत्नी रुक्मिणी थिइन्। उनका रासलीलामा सामेल हुने १६०० गोपीनीसँग भौतिक आसक्ति थिएन, मात्र भगवान् कृष्णप्रतिको स्वयं गोपिनीहरूको आध्यात्मिक आस्था, प्रेम भाव र स्नेहसम्म थियो भन्ने ठानिन्छ। भगवान् कृष्णका रासलीलाबारेमा कुअर्थ लगाउन मिल्दैन। उनका बारेमा अनेक गाथा छन्। चीरहरणको प्रयास हुँदा, द्रौपतीको रक्षा, ग्वाला बालकको काली नागबाट संरक्षण, महाभारत युद्धमा पाण्डवका पक्षमा खडा हुनु आदि उहाँका थुप्रै तिलस्मी उदाहरण छन्।
तथापि आजको युग अर्कै हो। आज पुरुष र महिलाको सम्बन्ध कानुनले बाँधेको छ। कुन सम्बन्ध जायज हुन्छ र कुन नाजायज हुन्छ, त्यो कानुनले तोकेको छ। कानुनभन्दा बाहिरको सम्बन्ध अपराध हुन्छ र सजाय पनि हुन सक्छ। धार्मिक आधारमा भन्ने हो भने पनि चेली र गुरुको सम्बन्ध, सिद्ध पुरुष र भक्तिनीबीचको सम्बन्ध बाबु–छोरीसरह हुन्छन्। तिनका बीचमा शरीरिक सम्बन्ध हुनु भनेको अनैतिक मात्र होइन, अझ बढी पाप मानिन्छ।
भगवान् बुद्धका समयमा बुद्धधर्मअन्तर्गत सत्संगमा हजारौं अनारिका थिए तर कहिल्यै पनि त्यसबखत दुराचारका प्रश्न उठेनन्। आधुनिक युगमा आएर धर्मका नाममा ढोंगहरू हुन थालेका छन्। यद्यपि कयौं स्वामीले धर्मको पालना नियमपूर्वक गरिरहेकै छन्।
चेली र गुरुको सम्बन्ध, सिद्ध पुरुष र भक्तिनीबीचको सम्बन्ध बाबु–छोरीसरह हुन्छन्। तिनका बीचमा शरीरिक सम्बन्ध हुनु भनेको अनैतिक मात्र होइन, अझ बढी पाप मानिन्छ।
भारतमै हेरौं, त्यहाँ कैयन् सम्मानित ऋषि–महात्माहरू छन्। अर्कोतर्फ धर्मका नाममा कैयन् बाबाहरूबाट नकारात्मक घटना भएका उदाहरण छन्। कैयन् जोगी, सन्न्यासी, गुरु, धर्माधिकारी, मठाधिकारीले मठ र धार्मिक संस्था सञ्चालनका नाममा व्यापार गरेका छन्। पैसा ब्याजमा लगानी गर्नेदेखि काला धन संकलन गरेका छन्। जग्गाको खरिदबिक्री वा अन्य व्यापार गरेका छन्। अवैध धन संकलन गरेका छन्। मानौं धर्म होइन, सम्पत्ति र शक्तिको सञ्चय गर्न उनीहरू बसेका हुन्। भारतमा कयौं धार्मिक संगठन देह व्यापारको अखडाजस्तो हुन पुगेका छन्। थरीथरीका गुरु र माता देखा परेका छन्, जसको आचरणविपरीत धार देखिएको छ।
धार्मिक कार्यका नाममा स्वयं धर्मगुरुहरूबाट युवती तथा नाबालिकाको यौन शोषण भएको प्रमाणित भएको छ। भारत सरकारद्वारा त्यस्ता सन्त–महन्तमाथि कठोर कारबाही भएका छन् र कैयन् धार्मिक गुरुहरू यतिखेर काराबासमा पुगेका छन्। भारतको इन्डिया टुडेले भारतीय बाबाहरूको यौनजन्य अफवाह प्रकाशित गरेको थियो। त्यसमा आशाराम बापु एक हुन्, जो थुनामा छन्। उनीमाथि जोधपुरकी एक १६ वर्षकी बालिकामाथि बलात्कार गरेको आरोप लागेको छ। उनका छोरा अर्का धार्मिक सन्त नारायण साई कैयन् दिन फरार भएका थिएलाई पक्राउ गरी थुनामा राखी कारबाही गरियो।
त्यस्तै डेरा सच्चा सौदाका धार्मिक गुरु गुरुमित रामरहिममाथि पनि यौन शोषणको आरोप छ। उनी पनि थुनामै छन्। धार्मिक गुरुहरू जसले जुन किसिमको अपराध गरेका छन्, त्यहाँ तिनीहरूमाथि कठोर कानुनी कारबाही भएका छन्। यसरी गैरचरित्रधारी बाबाविरुद्ध धरपकड र मुद्दामा कारबाही हुँदाका बखत तिनका हजारौंहजार अनुयायीले अड्डा–अदालत, थाना, चौकी घेर्ने र नारा–जुलुस, ढुंगामुढा गर्नेजस्तो नकारात्मक कार्य नगरेका होइनन्। तर त्यहाँ न प्रहरी डरायो, न प्रशासन, न त अड्डा–अदालत डराए। बरु आफ्नो कारबाहीमा कडाइका साथ अडान लिएर बसेको पाइन्छ।
भारतमा सबै किसिमका अपराध गर्ने सन्त–महन्तमाथि कारबाही भएका छन् र उजुर पनि परेका छन्। सन्त रामपालमाथि सन् २००६ मा ज्यान मार्ने उद्योग र अदालतको मानहानि मुद्दा चलेको थियो। स्वामी नित्यानन्दमाथि पनि एउटी भारतीय मूलकी अमेरिकी महिलाले आफूलाई बारम्बार बलात्कार गरेको आरोप लगाएर उजुरी गरेकी थिइन्। स्वयं रामदेव बाबामाथि बारम्बार आर्थिक घोटालाको आरोप लाग्ने गरेको छ। चन्द्रास्वामीमाथि पनि आर्थिक घोटालाको आरोप लागेकै हो। जयन्द्र सरस्वतीमाथि त हत्याको मुद्दा नै चलेको देखिएको छ। स्वयं साईबाबामाथि जादुगरका रूपमा झूटो काम गरेको र यौन दुव्र्यवहार गरेको चर्चा चलेको थियो।
नेपालका जोगी, सन्न्यासी र महन्तविरुद्ध पनि मुद्दा नचलेको भने छैन। मठको सम्पत्ति आफ्नो कायम गरेको, चेलाले मठको सम्पत्ति हत्याउन गुरुको हत्या गरेको र मठका जग्गा–जमिन महन्तले जथाभावी बिक्री गरेको उदाहरण स्वयं जानकी मन्दिरको सन्दर्भमा विवाद देखिएका छन्। यतिखेर धर्मबारेमा धेरै मानिसले त्यति गम्भीर चिन्तन राखेको पाइँदैन। अब जे पनि गरे हुन्छ भन्ने सोच मानिसमा छ। त्यसैले धर्म गर्ने नाममा मानिसले धन सोहोर्ने व्यभिचार जे पनि गर्न हुन्छ भन्ठानेका छन्। कतिपय स्वामीले धर्म गरेको आडम्बरसम्म देखाउने तर व्यवहारमा सम्पत्ति संकलन गर्ने जरिया बनाएका छन्। कतिययले धुनी जगाउने नाममा अफिम, गाँजा, चरेश आदिको तस्करी, ओसार–पसार र बिक्री–वितरणसमेत गरेका छन्।
नेपालजस्तो सानो भूभाग भएको देशमा आजभोलि दिनप्रतिदिन महिलाविरुद्ध हुने हिंसा र बलात्कारको वारदात हुन थालेका छन्। मुलुकभित्र दण्दहीनतामा वृद्धि हुनुपर्ने कारण प्रहरी प्रशासन र न्यायालयले यस्ता वारदातविरुद्ध गम्भीर नभइदिनाले पनि वारदातको संख्या बढ्दै गएको हो भन्ने अधिकांशको भनाइ छ। प्रथमतः बलात्कारका उजुरी नै नेपालमा पर्दैनन्स परिहाले पनि सामाजिक दबाब र प्रभावका कारण अलमलिने हुँदा समयमा मुद्दा दायर हुँदैन। त्यसमाथि धेरैजसो मामलामा अनुसन्धान गर्ने निकायबाट गम्भीर अनुसन्धान हुँदैन, लापरबाही गरिन्छ। त्यसमाथि सुरु मुद्दाको परीक्षण गर्ने अदालतले मुद्दा हेर्दा गम्भीर नभएको कारणबाट अभियुक्तहरू हिरासतबाट छुटेर जब गाउँ–समाजमा मिठाई बाँडेर खुसीयाली मनाउँछन् र पीडित पक्षलाई धम्की र दबाब दिन सुरु गर्छन्, त्यसपछि कसले बलात्कारविरुद्ध उजुर गर्ने साहस गर्छ। बलात्कारविरुद्धको कानुनलाई हेर्ने हो भने अपराधअनुसार नेपालमा सजाय कठोर नै छ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर दफा २१९ मा जबर्जस्ती करणी गर्न नहुने र सोको देहाय ९१० मा कसैले जबर्जस्ती करणी गर्नु हुँदैन ९२० कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ। स्पष्टीकरण ः यस परिच्छेदको प्रयोजनका लागि स् ९क० करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, ९ख० होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन।
त्यस्तै उपदफा ९३० जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहायबमोजिम कैद हुनेछ। ९क० १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद, ९ख० १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदखि २० वर्षसम्म, ९ग० १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म, ९घ० १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म, ९ङ० १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म। ९४० उपदफा ९३० मा जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ। तथापि पीडकले अपराध गरेबमोजिम अड्डा–अदालतबाट सजाय पाएमा र उजुरीपछि पीडितले राज्यद्वारा संरक्षण पाए पो उजुर गर्न र न्याय माग्न आउने साहस पीडितले गर्छन्।
हिजोआज जुन किसिमबाट महिलामाथि हिंसाका तायदात देखिएको छ, त्यो दण्दहीनताका कारणले अपराधीमा अपराधको मनोवृत्ति दिनप्रतिदिन बढ्दै गएको पाइन्छ। त्यसको अर्को कारण हो– अभियुक्तले पाउने गरेको राजनीतिक दलको बलियो संरक्षण। यस्तो संरक्षण त धार्मिक संगठनलाई पनि प्राप्त हुन थालेको छ। हाम्रो मुलुकमा राजनीतिक प्रभाव यति धेरै गहिरिएर गएको छ कि यसको हर क्षेत्रसँग साँठगाँठ रहेको पाइन्छ।
कतिसम्म भने धार्मिक संगठनहरू पनि दलका भ्रातृ संगठनजस्ता भएका छन्। धार्मिक संगठन र बाबाहरूले सत्तामा पुगेका नेताको चाकरी गर्नु र तिनलाई धार्मिक कार्यक्रमका नाममा मन्दिर र मठमा आमन्त्रण गरी सम्मान गरी तिनका चाकरी गर्नु त्यसैको परिणाम हो। अन्यथा तत् धार्मिक संगठनले अथाह ऐलानी, पर्ती र बहुमूल्य सरकारी जग्गाको स्वामित्व केकसरी पाए र कुन आधारमा तिनका भोगका करोडौं करोडका महलरूपी आ श्रम सुखसयलका भवन र साधनद्वारा सम्पन्न हुन सम्भव छ रु
पशुपतिनाथ र स्वर्गद्वारीलगायत पुरातन राजा–महाराजाद्वारा स्थापित गुठीको सवाल अर्कै हुन्। अझ बढी भन्ने हो भने यिनका अधिकांश गुठीहरू बरु मासिएका छन्। तर नयाँ स्वयं घोषित सन्तमहन्तमा अकूत सम्पत्ति कहाँबाट आयो, त्यसको लेखाजोखा कसले राख्ने रु तिनलाई वनजंगलको जमिन मासेर महल बनाउन कसले इजाजत दियो र धर्मका नाममा जुनसुकै अपराध गर्ने हिम्मत र छुट कुन जरियाबाट आयो रु
