Tuesday, July 28[email protected]
Shadow

डोरबहादुरको ‘फेटालिज्म एन्ड डेभलप्मेन्ट’ नेपालीमा

काठमाडौं ।  मानवशास्त्री प्राध्यापक डा। डोरबहादुर विष्टको पुस्तक ‘फेटालिज्म एन्ड डेभलप्मेन्ट’ नेपाली भाषामा प्रकाशित भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा पुस्तकको नेपाली अनुवाद ‘भाग्यवाद र विकास’ लाई मानवशास्त्री बिहारीलाल श्रेष्ठले विमोचन गरेका थिए।

पहिलो पटक सन् १९९१ मा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद कर्णाली इन्स्टिच्युट र त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र विभागले विष्टको ९३ औं जन्मोत्सवको अवसरमा सार्वजनिक गरेको हो। विमोचनलगत्तै पुस्तकले नेपाल र नेपालीको अवस्थाको परिकल्पना गरेको श्रेष्ठले बताए। ‘नेपाल आधुनिक गतिमा किन अघि बढ्न सकेन भन्ने दृष्टिकोण पुस्तकमा समेटिएको छ,’ उनले भने।
‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ का अनुवाद वसन्त थापा नेपाली समाजको वास्तविकता बुझ्न चाहनेहरूका लागि पुस्तक उपयोगी हुने बताए। नेपालको विकासमा असर पारेको हुँदा यहाँको सांस्कृतिक र सामाजिक संगठनका विभिन्न आयामहरुका कारण वर्तमान अवस्थामा पुस्तक सान्दर्भिक रहेको दाबी उनले गरेका थिए। ‘दोस्रो युद्धको अन्त्यपछि नेपालले विकासका नाममा वैदेशिक सहयोग लिन थालेको थियो। यो पुस्तकमा नेपाल किन विकसित भएन भन्नेबारे विष्टको दृष्टिकोण पढ्न पाइन्छ,’ उनले भने, ‘भाग्यमा मात्रै आश्रित बनेर विकासको सपना देखिरहेको नेपाली समाजको चित्रण गरेर नेपाली मानवशास्त्रका पिता विष्टले सो पुस्तकमा नेपाल विकास नहुनुमा रहेका अवरोधबारे प्रश्न खडा गरेका थिए।’ उनले २५ वर्षअघि नै पुस्तक नेपालीमा अनुवाद हुनुपर्ने बताए।
सो पुस्तकमा भाग्यवादी सोचका कारण नेपाली समाजमा मेहनत गरेर खाने संस्कार नष्ट हुँदै गएपछि चाकरी र नातावादमा विकास अघि बढ्न नसक्ने विश्लेषण गरिएको थियो।
प्रजातान्त्रिक शासन व्यवस्था कायम रहँदै प्रकाशित भएको पुस्तकले नेपालका विभिन्न जनजाति र पिछडिएको समूहले भोग्नुपरेको विभेदलाई पुस्तकमा समेटेका थिए। कार्यक्रमको आयोजना कर्णाली इन्स्टिच्युट र त्रिभुवन विश्वविद्यालय, मानव शास्त्र केन्द्रीय विभागले गरेको थियो।

Leave a Reply

Your email address will not be published.