Thursday, May 21[email protected]
Shadow

शैक्षिक सामग्री र झोला पाए चेपाङ समुदायका विद्यार्थीले

चितवन । चेपाङ समुदायका विद्यार्थीले पनि शैक्षिक सामग्री र झोला पाएका छन् । चितवनस्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका ५२ जान चेपाङ समुदायका छात्र छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
इच्छाकामना गाउँपालिका वडा नं. ६ आधामारमा रहेको सो विद्यालयका चेपाङ समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । कक्षा १ देखि ५ सम्म १२० जना विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा गरिबी र अभावका कारण ५० प्रतिशत चेपाङ बालबालिकाहरु नियमित विद्यालय आउन सक्दैनन् ।
इच्छाकामना गाउँपालिका अधिकांश चेपाङ विद्यार्थीहरु विद्यालय भर्ना भएपनि नियमित विद्यालय जानेक्रम अत्यन्त न्यून रहेको विद्यालयका प्रधान अध्यापक बुद्धिमान चेपाङले बताउनुभयो । कार्यक्रममा देविभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक सुरेन्द्र चेपाङले चेपाङ बालबालिकाहरु विद्यालयमा १२० जना विद्यार्थी रहेपनि नियमित रुपमा ६० जना मात्र विद्यालय आउने बताउनुभयो ।
उहाँले अझैपनि ५० प्रतिशत चेपाङ बालबालिकाहरु नियमित विद्यालय नआउने बताउनुभयो । यसरी विद्यालय जाने बालबालिकाहरु अर्काको घरमा काम गर्ने, जंगलमा घाँस दाउरा गर्ने हुनाले समग्र चेपाङ समुदाय शिक्षामा पछाडी परेको हुँदा व्यापार, व्यवसाय रोजगारीका अवसरहरु बाट समेत बञ्चित हुनु परेको जन गुनासो छ । यसै सन्दर्भमा नेपाल चेपाङ संघ चितवन जिल्ला शाखाको समन्वय र डेक– नेपाल सौराहा चितवनको साझेदारीमा राष्ट्रिय आधारभूत विद्यालयमा ५२ जना छात्र छात्राहरुलाई साप–नेपालले आज एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री एवं झोला वितरण गरिएको साउथ एशिया पार्टनरशीप नेपाल (साप नेपाल)का अध्यक्ष गिता भट्टराइले बताउनुभयो । साप–नेपालले चितवन लगायत अन्य जिल्लामा संस्थाको आन्तरिक स्रोतबाट विपन्न वर्गका विद्यार्थीहरुलाई हरेक वर्ष शैक्षिक सामग्री एवं छात्रवृद्धि वितरण गर्दै आईरहेको छ । कार्यक्रममा प्रभावशाली पुरुष उमेश चेपाङले शिक्षा र चेतनाको कमिका कारण अझै पनि बालबिवाह र बालश्रमीकको रुपमा बालबालिकाहरु प्रयोग भईरहेको बताउनुभयो । उहाँले बालबिवाहरुको विरुद्धमा सरोकारवालाहरुले कुनै चासो नदेखाएको बताउनुभयो ।
कार्यक्रममा डेक – नेपालका कार्यक्रम निर्देशक जनक कार्कीले गरिव तथा विपन्न समुदायका छात्रछात्राहरुलाई शिक्षाको क्षेत्रमा सहयोग गरी सवल र सक्षम नागरिक उत्पादन गरी देशको विकासमा योगदान गर्न हरेक संघ–संस्थाले आ आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष भुपेन्द्र चेपाङले शिक्षाको सहज पहुँच नभएको कारण चेपाङ बालबालिकाहरु हरेक क्षेत्रमा पछाडी परेको भन्दै भौगोलिक विकटताको कारण बालबालिकाहरुलाई विद्यालय जान धेरै समय लाग्ने बताउनुभयो । यही कारणले माध्यामिक तथा उच्च माध्यामिक तहमा अध्ययन गर्न नसकेको बताउनुभयो । साप नेपालका अध्यक्ष गिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चेपाङ संघका प्रदेश सचिव लक्ष्मण चेपाङ, राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय आधामारका बुद्धिमान चेपाङ, डेक नेपालका उपाध्यक्ष धनमाया चेपाङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.