Thursday, May 21[email protected]
Shadow

हिमालयन शेर्पासँग मच्छिन्द्र स्तब्ध

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले पहिलो हार व्यहोरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार खेलिएको सातौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले अप्रत्याशित नतिजा निकाल्दै मच्छिन्द्र क्लबलाई २(० गोलले हरायो। यसअघि ६ खेलमा मच्छिन्द्र अपराजित रहँदै आएको थियो।
रेलिगेसनको सम्भावित खतराबाट जोगिन संघर्षरत हिमालयन शेर्पाले बलियो मच्छिन्द्र क्लबविरुद्घ पहिलो हाफमै २(० गोलको अग्रता बनाएको थियो। खेल सुरु भएको पहिलो मिनेटमै मच्छिन्द्रका विदेशी खेलाडी पिटर सेगुनबाट आत्मघाती गोल भएपछि हिमालयन शेर्पा अगाडि बढेको थियो। विनोद गुरुङले प्रहार गरेको बललाई पिटरले हेडमार्फत क्लियर गर्न खोज्दा बल आफ्नै पोस्टमा छिरेको थियो।


यसैगरी २०औं मिनेटमा हिमालयन शेर्पाले अग्रता दोब्बर बनाएको थियो। हिमालयन शेर्पाका लागि दोस्रो गोल विजय श्रेष्ठले गरेका थिए। उनले पनि हेडमार्फत नै गोल गरेका थिए। जारी सिजनको लिगमा हिमालयन शेर्पाको यो पहिलो जित हो। जितसँगै हिमालयन शेर्पा सात अंकसहित तालिकाको नवौं स्थानमा उक्लिएको छ। हिमालयन शेर्पाले एक जित, चार बराबरी र दुई हारको नतिजा निकालेको छ। समान अंक भए पनि हिमालयन शेर्पाले तालिकाको १०औं स्थानमा आसीन ब्रिगेड ब्वाइज क्लबलाई गोल अन्तरमा पछाडि पारेको हो।
हारसँगै मच्छिन्द्र क्लब अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। मच्छिन्द्रले सात खेलबाट १३ अंक जोडेको छ। मच्छिन्द्रले चार जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ। रेलिगेसनबिनाको अघिल्लो सिजनको लिगमा अन्तिमबाट दोस्रो भएकाले यो सिजन मच्छिन्द्रको एक अंक घटाइएको हो।
त्रिभुवन आर्मी क्लब तालिकाको पहिलो स्थानमा उक्लिएको छ। आर्मी क्लबले केवल ६ खेलबाट १३ अंक जोडेको छ। आर्मी क्लब र मच्छिन्द्र क्लबको गोलअन्तर भने समान छ। तेस्रो स्थानमा आसीन मनाङ मस्र्याङ्दी क्लबले ६ खेलबाट १२ अंक बटुलेको छ। समान खेलबाट १० अंक हात पारेको थ्रीस्टार क्लब चौथो स्थानमा छ। हिमालयन शेर्पा र मच्छिन्द्र क्लबबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाउने कार्यक्रम रहे पनि निरन्तरको वर्षाका कारण उक्त खेल एन्फा कम्प्लेक्सको मैदानमा सारिएको थियो।

Leave a Reply

Your email address will not be published.