
पुस १६, काठमाडौं । प्रधामन्त्री (पीएम) कप राष्ट्रिय पुरुष प्रतियोगिताको लागि बागमती प्रदेश स्तरीय छनोट खेलमा आदिल खानले दोहोरो शतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान बिहीबारदेखि सुरु भएको बागमती प्रदेश स्तरीय छनोट प्रतियोगितामा ललितपुरका लागि खेलेका आदिलले घरेलु टोली त्रिभुवन विश्वविद्यालय (टीयू) को टिम विरुद्ध दोहोरो शतक प्रहार गरेका हुन् । आदिलले २०१ रन बनाए ।
घरेलु क्रिकेटमा यसअघि मेहबुब आलमले एकै खेलमा नटआउट २५६ रन बनाएका थिए । सन् २००५ मा इस्टर्न रिजन स्तरीय खेलमा मेहबुबले उदयपुर विरुद्ध २५६ रन बनाएका थिए । उनले १२३ बल खेल्दै २६ चौका र १८ छक्का प्रहार गरेका थिए ।
४० ओभरको खेलमा ओपनिङ गरेका आदिलले २०१ रन बनाए । उनले १२१ बल खेल्दै १६ चौका र १५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट मात्रै १५२ रन बनाएका हुन् । पहिलो विकेटका लागि आदिल र आशुतोस घिरइयाले १७४ रनको साझेदारी गरेका थिए । आशुतोसले ८३ रन बनाए । यस्तै दोस्रो विकेटका लागि आदिलले विकेट किपर दुर्गेश थापासँग १४८ रनको शतकीय साझेदारी गरे । दुर्गेशले ५३ रन बनाए ।
आदिलको दोहोरो शतक अनी आशुतोस र दुर्गेशको अर्धशतक मद्दतमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर ३७५ रनको विशाल स्कोर बनाएको थियो । विवेक राना मगर १० रनमा अविजित रहे । टीयूका लागि अभय घर्ती मगर र आयुश बानियाले समान १ विकेट लिए ।
३७६ रनको विशाल लक्ष्य पछ्याएको टीयूले २९.४ ओभरमा सबै विकेट गुमाएर ८४ रनमा अलआउट भयो । टीयूका लागि राष्ट्रिय टिमबाट खेलिसकेका पृथु बास्कोटाले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पृथुले ४८ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे ।
टीयूलाई अलआउट गर्न ललितपुरका सुमित झाले ६.४ ओभरमा २ ओभर मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए । यस्तै योउनेश थापा र तिलक राज भण्डारीले समान २ तथा विपिन आचार्यले १ विकेट लिए ।
