Thursday, May 21[email protected]
Shadow

उत्पादकत्व बढाउन रूख काट्ने अभियान

 

बलेवा । जैमिनी नगरपालिकाले एक साताअघि रूख बिरुवा काट्ने अभियान थालेको छ । नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिका रूख नहटाइएमा जबर्जस्ती हटाएर खर्च भराउने पनि चेतावनी दिएको छ । वर्षौं लगाएर हुर्काएका बिरुवा हटाउने निर्णय गर्नु राम्रो नहुन सक्छ तर दैनिक जीवनमा आइपरेका समस्या र उत्पादनमा परेको असरले यो निर्णय लिइएको नगरपालिकाले जनाएको छ ।
यस्तै अभियान बागलुङ नगरपालिकामा पनि चलाइएको छ । नगरपालिकाको बलेवा खण्डमा ठूलै लहर आयो । घरको १० मिटर वरिपरि रूखै नराख्ने भन्नेसम्म लहर चल्यो । त्यो अभियानले पूर्णता भने पाइसकेको छैन । पछिल्लो समय मालिका, भान्सा, सिम, कालीमाटीतर्फ पनि उक्त अभियान चलाइएको छ । रूख काट्ने अभियानलाई कतिपयले टीकाटिप्पणी पनि गरेका छन् “खेतीपाती त भएन, जङ्गली जनावरको पनि डर भयो”, बागलुङ–५ का अध्यक्ष शिवप्रसाद सापकोटाले भन्नुभयो, “अहिले रूख काटेर खेती लगाउने, झाडी पन्छाएर सुरक्षित बनाउन थालिएको छ ।” झाडी फाँड्दा कृषि उत्पादकत्व बढ्न थालेको उहाँले बताउनुभयो ।

दुई साताअघि बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा रूख काटेको विषयले ठूलै बहस चलायो । रूख काटेर वन कार्यालयको मुद्दा खेप्नेमा क्याम्पस प्रशासन तयार रहेको हो कि भन्ने टिप्पणी पनि भए । बागलुङ नगरपालिका–१४ मा हवाईजहाज चलाउने निहुँमा साढे तीन सय सल्लाका रूख काटेपछि स्थानीयवासीले झमेला खेपेको धेरै भएकै छैन । तर पनि रूख काट्ने अभियानको तयारी भएको छ ।
“जनताको खेतबारीको उत्पादकत्व घटेको, दैनिक जीवन असुरक्षित भएको विषयमा वन कार्यालयले चासो राखेको पाइएन”, धौलागिरि अञ्चल अस्पतालका अध्यक्ष केबी राना मगरले भन्नुभयोे, “मुद्दा परे म खेप्छु भनेर अस्पताल सफाइ गरियो ।” यसअघि मुद्दा पर्ने डरले अस्पताल झाडी बनेको उहाँले टिप्पणी गर्नुभयो । काठेखोला गाउँपालिकाले पनि काठ नहुने अग्ला रूख फाँड्ने अभियान गत वर्षदेखि थालेको छ । “उत्पादन नदिने रूख फालेर सुन्तला रोप्ने अभियान चलाएका छौँ”, वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले भन्नुभयो, “सुन्तला रोप्दा एउटै रूखबाट बर्सेनि फाइदा हुने जग्गा कुकाठले ओगटेको छ ।” सयौँ रूख काटेर हजारौँ बिरुवा रोपेको उहाँले बताउनुभयो । जिल्ला वन अधिकृत रोमराज पाण्डे भने व्यक्तिकै जग्गा भए पनि एकैपटक धेरै रूख काट्ने विषय राम्रो नभएको बताउनुहुन्छ ।
उहाँले पर्यावरण बिगार्दा बाढीपहिरो निम्तिने खतराबारे सचेत बन्न नसकेको बताउनुभयो । “व्यक्तिले आफ्नो जमीन भित्रको रूख काटेर आफ्नै खपत गर्छ भने केही फरक परेन, तर बिक्री गर्दा अनुमति लिने र १३ प्रतिशत भ्याट, एक दशमलब पाँच प्रतिशत बिक्री कर तिर्नुपर्छ”, पाण्डेले भन्नुभयोे, “विकासका लागि विरोधी बन्न खोजेका भने होइनौँ ।” अनुत्पादक रूख काटेर सुन्तला लगाउँदा दोब्बर फाइदा हुन्छ भने त्यस्ता काममा अवरोध नगर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.